काठमान्डौ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैँका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाएका हुन्।
प्रहरी महानिरीक्षक सिंहले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे । सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइेको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अङ्कित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अङ्कित हुन्छ ।
नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्त्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रूपमा निशान झण्डालाई लीन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।