विजयादशमी – नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम तेस्रो दिन पनि जारी

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौँ – आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरू आज भने राजधानीमा आकाश खुलेकाले बिहानैदेखि हिँड्न थालेका छन।

विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएकाले नवदुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद लिन टाढाटाढा आफन्तकहाँ जान कठिन भएको थियो । दुई दिनसम्म हिँड्न नपाएका राजधानीवासीको आज भने आकाश खुलेसँगै बिहानैदेखि चहलपहल देखिएको हो ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताउनुहुन्छ । केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *