लंडन, बेलायत
भारतिय मुल्कका बेलायती नेता ऋषि सुनक ब्रिटेनका नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ।
यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक यसपालि विजयी भएका छन्।
उनी पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ र यूकेले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा कार्यभार सम्हाल्ने भएका छन्।
पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन्।
नयाँ बन्ने ब्रिटिश प्रधानमन्त्रीले यूकेमा दशकौँमा देखापरेका सबैभन्दा गम्भीर आर्थिक समस्याहरू र उनीहरूकै वैधताका प्रश्नहरू सामना गर्नेछन्।
ब्रिटेन अहिले दशकौँमा सिर्जना भएको सबैभन्दा उच्च महँगी र बढ्न नसकिरहेको आर्थिक वृद्धिसँग जुझिरहेको छ।
उसको अर्थतन्त्र युक्रेन युद्ध, ब्रेक्जिट र कोभिड महामारीका कारण कमजोर बनेको छ, तर ती समस्यालाई सरकारको अस्थिरताले थप कमजोर बनाएको छ।
विपक्षी दलहरूले नयाँ नेतासँग कार्यादेश नहुने भन्दै आमनिर्वाचनको माग गरेका छन्।
फेब्रुअरी २०२० मा सुनक यूकेको चान्सलर अफ एक्सचेकर (अर्थमन्त्री) बने।
त्यसको केही सातामै उनले सामना गर्नुपरेका महामारी र लकडाउनका चुनौतीहरू दोस्रो विश्वयुद्धपछि कुनै चान्सलरले झेलेकोमध्ये सबभन्दा ठूला थिए।
२१औँ शताब्दीसँगै युवावस्थामा प्रवेश गरेका, कहिल्यै मदिरापान नगर्ने उनी धेरैका लागि अर्थतन्त्रको गाडी हाँक्न विश्वसनीय व्यक्ति बन्न पुगे।
सन् २०२० को बसन्तयाममा उनले महामारीमा मानिसहरूलाई सघाउन “जेसुकै गर्ने” वाचा गर्दै ३५० अर्ब स्टर्लिङ पाउन्ड बराबरको सहायता कार्यक्रम सार्वजनिक गरे।
त्यसले उनको व्यक्तिगत लोकप्रियतालाई झन् उचाइमा पुर्यायो।
तर यूकेमा आर्थिक रूपमा अस्तव्यस्त माहोल जारी रहिरहँदा सुनक स्वयम्ले प्रहरीलाई जरिबाना तिर्नुपर्ने अवस्था पनि आयो।
जून २०२० मा डाउनिङ्ग स्ट्रीटमा लकडाउनका नियम तोडेको भन्दै बोरिस जोनसनसँगै उनी कारबाहीमा परेका थिए।
गत वर्ष एप्रिलमा सुनक र उनको परिवारको पैसाबारे मिहिन छानबिनहरू गरिए जसको केन्द्रमा उनकी श्रीमती अक्षता मूर्तिसँग जोडिएका करका विषयहरू थिए।
आफ्ना श्रीमान्माथि राजनीतिक दबाव बढेपछि उनले देशबाहिर आफूले कमाएको पैसाको यूकेमा कर तिर्ने घोषणा गरिन्।
सुनकका बाबु आमा दुवै पूर्वी अफ्रिकाबाट यूके आएका हुन् र दुवै भारतीय मूलका हुन्।
जनरल फिजिसिअन बुवा र औषधि पसल सञ्चालन गर्ने आमाका सन्तानका रूपमा उनी सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्।
उनले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढे र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गरे।
उनले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढे।
स्ट्यान्डफर्ड यूनिभर्सिटीमा एमबीए पढ्दा उनले भावी श्रीमती अक्षता मूर्तिलाई भेटे जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सह-संस्थापक नारायण मूर्तिकी छोरी हुन्। यी दम्पतीका दुई छोरीहरू छन्।
सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गरे।
पछि उनी दुईवटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बने। उनी ब्रिटेनका निकै धनी सांसदमध्ये एक भएको ठानिन्छ।
द टाइम्स पत्रिकाका अनुसार उनी “२५ वर्षे उमेरको आसपासमा दशौँ करोडका धनी” बने तापनि आफूसँग भएको सम्पत्तिबारे उनले कहिल्यै सार्वजनिक रूपमा बोलेका छैनन्।
उनी सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका थिए।बीबीसी
Video Source: The Guardian